गोठबाट सल्किएको आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति

   २७ पुष २०७७, सोमबार १०:४३  

पुस २७, रौतहट । पाँचथरमा भएको आगलागीमा दुई जनाको घर नलेर नष्ट भएको छ ।

जिल्लाको कुम्मायक गाउँपालिकामा वडा नम्बर १ बस्ने तेजबहादुर थापाको गोठबाट सल्किएको आगोले डिकबहादुर थापा र तेजबहादुरको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको हो ।

आगलागीबाट तेजबहादुरको फुसको छानो भएको तीन तले घर, दुई तले भान्छा घर, एक तले गोठ, नगद, गरगहना र अन्नपात समेत जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

यस्तै आगलागीबाट डिकबहादुरको फुसको छानो भएको तीन तले घर, एक तले गोठ, एउटा भेडा, नगद, गरगहना र अन्नपात समेत जलेर नष्ट भएको छ ।

स्थानीयवासी र इलाका प्रहरी कार्यालय यासोकबाट गएको टोलीले आगलागी भएको ३ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

दुई जनाको घरमा आगलागीमा जलेर नष्ट हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जनाएका छन् ।