नक्कली नम्बर प्लेटको गाडी छुटाउन चलखेल

   २० पुष २०७७, सोमबार १२:३९  

२० पौष, रौतहट । रौतहटको चन्द्रनिगाहपुर बाट प्रहरीले नियन्त्रणमा लिएको नक्कली नम्बर प्लेटको स्कारपियो गाडी छुटाउन चलखेल शुरु भएको छ ।

चन्द्रनिगापुरको मुख्य चोकमै पौष १२ गते एकै स्थानमा एउटै नम्बर प्लेट भिरेका दुई गाडी देखिए पछि संचारकर्मी सुब्बा कार्कीले ईलाका प्रहरी कार्यालय चन्द्रपुरलाई जानकारी दिएका थिए । बा१७च ९३६५ नम्बरको दुई वटा स्कारपियो गाडी एकै स्थानमा देखिए पछि दुई मध्ये एक गाडीको नम्बर नक्कली भएको आशंकामा प्रहरीले गाडी नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएको मध्ये एउटा गाडीका सवारी धनिले सम्पूर्ण आवश्यक कागजात प्रमाण देखाए पनि अर्को गाडीको सवारी धनी सम्पर्क मै आएनन । प्रहरी अनुुसन्धानका क्रममा नक्कली नम्बर प्लेट राखेर सवारी चलाउने वृन्दावन नगरपालिका ६ घर भइ हाल चन्द्रपुर नगरपालिका ४ बस्ने अमन तिवारीलाई पक्राउ गरेको छ ।

चन्द्रपुरमा होण्डा कम्पनीको मोटरसाइकलका डिलर रहेका तिवारी पक्राउ परे पछि उनलाई र गाडी समेत छुटाउनका लागी चलखेल शुरु भएको हो । प्रहरी उच्च अधिकारीहरुलाई नै प्रभावमा पारेर तिवारीलाई जोगाउने प्रयास भइरहेको श्रोतको दाबी छ । नक्कली नम्बर हालेर सवारी चलाउने तिवारी र गाडी दुवैलाई राजश्व कार्यालयमा बुझाउनुको सट्टा जिल्ला प्रशासन कार्यालय मार्फत कारवाही प्रक्रिया बढाए जस्तो गरेर उन्मुक्ती दिने प्रयास भइरहेको छ ।

नियन्त्रणमा लिएको गाडी नक्कली रहेको प्रमाण आफूहरुले जुटाएको र अनुसन्धानका क्रममा सवारी धनी समेत पक्राउ परेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका नायब उपरिक्षक हेम बहादुर शाहीले बताए । घटनाका सम्बन्धमा कानून बमोजिमको कारवाही अगाडी बढाएको उनले बताए ।