एसएसबीले सीमामा जबर्जस्ती पिलर गाढेपछि स्थानीयहरुले लखेटे

   २० पुष २०७७, सोमबार १२:२३  

२० पुस, रौतहट । सूर्योदय नगरपालिकाको हिलेभञ्ज्याङमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पूर्वी सीमावर्ती क्षेत्रमा जबर्जस्ती पिलर गाढेपछि स्थानीयहरुले लखेटेका छन् । एसएसबीले हिजो राति पिलर गाढेको थाहा पाएपछि त्यहीं पुगेर स्थानीयले प्रतिकार गरेका छन् ।

स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि एसएसबी आफूले गाढेको पिलर उखेलेर पछि हटेको छ । सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी)का इन्स्पेक्टर नवीन खतिवडाले एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस)ले देखाएको ठाउँ भन्दै नेपाली भू–भागपट्टि पिलर गाढ्ने प्रयास गरेको बताए । ‘हामी कसैलाई थाहै नदिई विवादित ठाउँमा एसएसबीले पिलर गाढ्न खोजेको रहेछ,’ उनले भने, ‘हामी राति नै त्यहाँ पुगेका थियौं, स्थानीयसमेत पुगेर विरोध गरेपछि एसएसबी फर्किएको छ ।’

भारतले सीमाक्षेत्रमा राखेको एसएसबीको बिओपीमा नयाँ नेतृत्व आएपछि यहाँ पिलर गाढ्ने प्रयास गरेको उनले बताए । ‘समस्या समाधानका लागि अहिले (सोमबार बिहान १० बजे) एसएसबीसँग हाम्रो छलफल छ,’ इन्स्पेक्टर खतिवडाले भने, ‘पिलर कहाँ गाढ्ने भन्ने यकिन नभएका बेला एकतर्फी रूपमा सीमा यकिन गर्न खोज्दा थप समस्या हुनसक्ने भएकाले छलफल गर्न लागिएको हो ।