बलात्कारमा परेकी बालिकाको उपचारमा अस्पतालका लापरवाही
१६ पुस, रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ बस्ने एक ७ वर्षीया बालिका यही पुस १३ गते बलात्कृत भएकी कारण ती बालिकालाई सरकारी अस्पतालमा मंगलबारदेखि भर्ना गरिएको छ ।
उपचारका लागि अस्पताल भर्ना भएकी बालिकाको उपचार र शुरक्षामा स्वास्थ्यकर्मी तथा अस्पताल प्रशासनले ध्यान नदिएको परिवार र स्थानीय अधिकारकर्मीहरुले आरोप लगाएका हुन् ।
बालिकालाई आमखोलाको किनारमा लगेर बलात्कार गरेको आरोपमा चन्द्रपुर नगरपालिका वडा नम्बर ७ का २२ वर्षीय दिनेश दास तत्मालाई पक्राउ गरिएको थियो ।
घटना भएको जानकारीपछि सोमवारनै प्रहरीले बालिकालाई स्थानीय सरकारी अस्पतालमा लगेको थियो । अस्पतालमा सामान्य उपचारपछी उनलाई सोहि दिन घर फिर्ता पठाइएको थियो ।
घरमा उनको स्वास्थ्यमा थप समस्या आएपछि मंगलवार बालिकालाई पुनः अस्पताल ल्याउँदा स्वास्थ्यकर्मीहरुले उपचारमा ध्यान नदिएको परिवारका सदस्यले गुनासो गरेका छन । बुधबार दिउँसोसम्म पनि बालिकाको यौनाङ्गबाट रक्तश्राव भैरहेको बालिकाकी आमाले बताइन ।
चन्द्रपुर नगरपालिकाका उपमेयर रामरती चौधरीले पनि बालिकाको उपचारमा कुनै लापरवाही नगर्न अस्पताल प्रशासनलाई आग्रह गरेकी छन् । उनले बालिकाको उपचारमा लाग्ने सम्पूर्ण सहयोग नगरपालिकाबाट उपलब्ध गराउने समेत बताएकी छन् ।
आरोपी दासमाथि अदालतबाट म्याद थपगरी अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।