चितवनमा सालकको खपटासहित तीनजना प्रहरी नियन्त्रणमा
१३ पुस, रौतहट । चितवन राष्ट्रिय निकुञ्जबाट नेपाली सेनाले आखेटोपहारसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन माडीनगरपालिका ६ बस्ने शुक्रप्रसाद तामाङ, पञ्चलाल प्रजा र केशरबहादुर तामाङ रहेका प्रहरीले जनाएको हो ।
उनीहरुलाई चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको सेना, बाँदरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले आइतबार नै नियन्त्रणमा लिएको थियो ।
उनीहरुको साथबाट बरामद भएको सालकको खपटा ३७५ ग्राम र सुकुटी ५०० ग्राम चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाको सुरक्षा र चोरी शिकारीका घटना नियन्त्रणका लागि सेनाले यसबारे थप अनुसन्धान गरिरहेको छ ।