गौर कारागारमा नाइकेहरुको छुट्टै राज्य
१० पौष, रौतहट । रौतहटको गौर रहेको जिल्ला कारागारमा चौकिदार, मूल नाइके र नाइकेहरुको शोषण र विकृतिले गर्दा कैद सजाय भुक्तान गरिरहेका कैदीबन्दीहरु पीडित बनिरहेको तथ्य सार्वजनिक भएको छ ।
कैदीबन्दीहरु माथि चौकीदार सहित नाइकेहरुले चरम यातना दिने गरेको, कारागार भित्रै लागुऔषधको व्यापार हुने गरेको सजाय भुक्तान गरेर कारागारबाट बाहिरिएका एक व्यक्तिले बताएका छन । बहु विवाह मुद्दामा कैद सजाय भुक्तान गरेर फर्किएका रौतहटको माधवनारायण नगरपालिका ३ भेलहीका ४० बर्षिय राजेशकुमार गिरीले कारागार भित्रको पीडादायि अवश्थाका बारेमा बताएका हुन ।
१६ महिनाको सजाय व्यतित गरेर २ पौषमा कारागारबाट रिहा भएपछि आफू सहित कारागार भित्र कैदीबन्दीहरुले भोग्नु परेको पीडा उनले सुनाएका हुन । “कारागार भित्र नाइकेहरुको छुट्टै राज्य छ ।” गिरीले भने “कारागारका बन्दीहरु शारिरीक, मानसिक, आर्थिक, यातनाको शिकार भईरहेका छन ।” कारागार व्यवस्थापन ऐन २०१९÷२०२० मा जघन्य प्रकृतिको मुद्दाका कैदीलाई चौकीदार नबनाउने नियम भए पनि बलात्कार गरी हत्या गरेको आरोपमा कैद जिवन बिताइरहेका विक्की सिंहलाई गौर कारागारमा चौकीदार बनाइएको छ । कारागार ऐनमा कैदीबन्दीहरु मध्ये पुरानो व्यक्ति वा कैद भुक्तान गर्न कम समय रहेका व्यक्तिलाई चौकीदार बनाउनु पर्ने प्रावधान भएपनि गौर कारागार प्रशासनले नियम विपरीत जघन्य अपराधका कैदीलाई चौकिदार बनाएको छ ।
कारागार प्रशासनले चौकीदार विक्की सिंहको मातहतमा चेक नाइके मसिर देवान, दाईनाइकेद्धय रामनरेश यादव र जय सिंहलाई जिम्मेवारी दिएको छ । उनीहरुको मातहतमा ४० जना व्यक्तिहरुले गौर कारागारमा रहेका ३७० कैदीबन्दीहरु माथि दादागिरी, अबैध रकम असुली लगायतका कार्यहरु गर्ने गरेको गिरीले बताए । यस विषयमा कारागार प्रशासन संग गुनासो गर्दा झन् यातनाको शिकार बन्नु परेको उनले बताए ।
कोठा नं. ६, यातना कक्ष
कारागारमा रहेको मध्ये कोठा नम्वर ६ मा कुनै कैदीबन्दी जान चाहदैनन । कारागारको यो कक्ष कैदीबन्दीहरुको लागी यातना कक्ष हो । यही कोठामा राखेर विक्की सिंहको समुहले कैदीहरुलाई चरम यातना दिने र लागुऔषधको सेवन गर्ने गरेका छन । नाइकेहरुले कारागार भित्र लागु औषध, चुरोट, खैनी, लगायतका अवैध सामानको व्यापार समेत गर्ने गरेको गिरीले बताए । “कैदीबन्दीहरु संग भेट्न आउने उनका परिवारका सदस्यहरुले ल्याएको सामानहरु भित्र दिने बहानामा खोसेर चौकिदार विक्की सिंहद्धारा संचालन गरिएको पसलमा राखिन्छ । ” गिरीले भने “बाहिर बजारमा पाइने भन्दा भित्र कारागारको पसलमा तिन दोब्बर बढी महङ्गोमा खरिद गर्ने बाध्यता छ । ”
असार १० गते देखि मेस संचालनको जिम्मेवारी पाएका चौकिदार विक्कि सिंहले गुणस्तरहीन खाना खुवाइरहेको उनले बताए । प्रतिदिन ७ सय ग्राम चामल गरी महिनाको एक कैदी बन्दीले २१ किलो चामल र १८ सय नगद रकम पाउने गरेको भएपनि कैदीले थप खाना मागेमा चौकिदारले कुटने गरेको र प्रत्येक महिनाको १, ११ र २१ गते कैदीहरुलाई लामबद्ध गराएर चौकीदारको पसलमा खाए वापतको तेब्बर रकम असुल्ने र माँगे बमोजिमको पैसा नदिदा कोठा नम्वर ६ मा लगि चरम यातना दिने गरेको उनले बताए ।
कोरोनाको समयमा दातृ निकायले पठाएका सेनेटाइजर, टुथपेष्ट, साबुन, ब्रस लगायतको सामग्रीहरु कैदीलाई नदिई कारागार प्रशासनको मिलोमतोमा उसैको पसलमा राखेर विक्री भएको उनको आरोप छ । “पैसा हुनेले कारागार भित्र जे पनि गर्न पाउँछ । रकम लिएर कैदिलाई बाहिर होटेलहरुमा समेत पठाइन्छ । ” १६ महिना कारागार बसेर आएर आएका गिरीले कारागार भित्र नाइकेहरुको साम्राज्यका बारेरमा बताउदै भने “ कत्र्तव्य ज्यान मुद्दामा कैदीबन्दीको जिवन विताईरहेका शेख शौकतसंग चौकीदार विक्की सिंहले पैसा लिएर कारागार सुरक्षामा खटिने प्रहरीकै कोठामा एक महिलासँग अनैतिक सम्बन्ध समेत गराएका थिए ।”
कारागारको जिवन विताएर निस्किएका गिरीले आफू माथि भएको अन्याय, अत्याचार, यातना अन्य कैदीहरु माथि हुन नदिन राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश २ को कार्यालयमा उजुरी समेत गरेका छन । अजोज १७ गते हातहतियार खरखजाना मुद्दामा कारागारमा रहेका भारतीय नागरिक अनिस साह मुसलमानसंग आन्तरिक साँठगाठ गरेर उपचारको बहानमा बाबा कोभिड अस्पताल विरगंजबाट फरार गराउनमा समेत कारागार व्यवस्थापन र चौकीदारको संलग्नता रहेको गिरीले बताए ।
यस विषयमा गौर कारागारका जेलर शम्भु प्रसाद यादवले सबै आरोप निराधार रहेको कारागारमा कुनै त्यस्तो गैरकानुनी कार्य नभएको तथा राम्रो ढंगबाट संचालन भईरहेको बताए । कारागार व्यवस्थापन ऐनमा जघन्य प्रकृतिको कैदीलाई चौकीदार नबनाउने प्रावधान रहेपनि विक्की सिंहलाई जिम्मेवारी दिएको स्वीकार गरे ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गौर कारागारको सम्बन्धमा आएका कुराहरुको सन्दर्भमा आवश्यक छानविन गर्ने बताए ।