शुल्क उठाएको विरोधमा जुद्ध माविमा तालाबन्दी

   ९ पुष २०७७, बिहीबार १७:१७  

९ पौष, रौतहट ।  गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन ।
सरकारले शिक्षाको पहुच सबैमा पुगोस भन्ने उदेश्यका साथ सामुदायीक विद्यालयमा माध्यमिक सम्मको शिक्षालाई निशुल्क बनाए पनि रौतहटको गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालयले अवैध रुपमा विद्यार्थी बाट शुल्क उठाएको आरोपमा विद्यार्थी संगठनले तालाबन्दी गरेको छ ।

अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तह सम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरेको छ । तर रौतहटको गौरमा रहेको देशकै जेठो मध्येको एक जुद्ध उच्च माध्यमीक विद्यालयमा भने विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउने गरिएको छ ।

दुई थरिको शिक्षा प्रदान गरिरहेको सो विद्यालयले नेपाली माध्यममा पढने विद्यार्थीहरुलाई निशुल्क र अग्रेंजी माध्यममा पढने विद्यार्थीहरुले बोर्डिङ्ग स्कूलमा झै मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको समेत शुल्क तिर्नु परेको विद्यार्थी तथा अभिभावकले बताएका छन ।

सामुदायीक विद्यालयले शुल्क लिने गरेको विषय उजागर भए पछि गौर नगरपालिकाको कार्यालयले समेत सामुदायीक विद्यालयहरुलाई कुनै पनि बहानामा शुल्क नउठाउन पत्रचार गरेको छ । नगरप्रमुख अजय कुमार गुप्ताद्धारा जारी भएको सो सूचनामा नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी गरिएको शिक्षा नियमावलीमा सामुदायिक विद्यालयहरुमा कक्षा बालविकास देखी माध्यमिक तह सम्म निशुल्क शिक्षा घोषणा लागु गरिएता पनि कतिपय विद्यालयहरुले आफूखुशी निर्णय गराई विद्यार्थीका अभिभावकबाट शुल्क असुल गरेकोले अब अप्रान्त नियमावलीको विरुद्ध गएर शुल्क उठाएमा सम्बन्धीत विद्यालयलाई कारवाही गरिने समेत उल्लेख गरिएको थियो ।

कक्षा ९ मा नयाँ भर्ना भएका विद्यार्थीबाट एकमुष्ठ २ हजार ७ सय २० रुपैंया लिएको विद्यालयले कक्षा अनुसार शुल्क निर्धारण गरेको छ । समुदयमा रहेका सार्वजनिक विद्यालयहरुले शिक्षा नियमावलीको विरुद्ध विद्यार्थीबाट शुल्क उठाउन थाले पछि विभिन्न विद्यार्थी सँगठनहरुले सो कार्यको विरोध गरेका छन । “जुद्ध उच्च माध्यमिक विद्यालयले अग्रेंजी माध्यमको बहानामा सरकारी विद्यालय भित्रै अर्को एक विद्यालय खडा गरेर विद्यार्थी बाट शुल्क उठाएको छ ।” अनेरास्वयूका केन्द्रीय सदस्य रवि मिश्रले भने “गौर नगरपालिकाले सूचनानै जारी गरेर शुल्क नउठाउन भन्दा पनि विद्यालयले अटेर गरेकोले हामीले आज विद्यालयको प्रशासान र प्रधानाध्यापकको कोठामा तालाबन्दी गरेका हौं । सरकारले भनेको अनिवार्य निशुल्क शिक्षाको जुद्ध विद्यालयले खिल्ली उडाएको छ ।”

अग्रेंजी माध्यमको शिक्षाको नाममा २०६७।६८ मा शुल्क उठाउने निर्णय गर्ने तत्कालीन प्रधानाध्यापक नागेन्द्र प्रसाद मण्डललाई कारवाहीको पहिलो सूचीमा राखिनु पर्ने नेपाल विद्यार्थी सँग रौतहटका अध्यक्ष श्याम हरी चौलागाईको तर्क छ । शिक्षा नियमावलीको घोर उल्लघंन गरेर रौतहटको अभिभावक सँग जबरजस्ती शुल्क उठाउने प्रथाको शुरुवात गर्ने तत्कालीन प्रधानाध्यापक मण्डल देखी वर्तमान प्रधानाध्यापक चन्देश्वर राउतसम्मको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गराएर कारवाही अगाडी बढाउने अध्यक्ष चौलागाईले बताए ।

विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुदा आफुहरु समस्यामा परेको जुद्ध उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्देश्वर राउतले बताए । विद्यार्थी सँख्या अत्याधिक भएको र शिक्षक दरबन्दी कम भए पछि विद्यालयले आफ्नै श्रोतमा अगे्रंजी माध्यमको कक्षा संचालन गरेको र सोही अनुरुप तिन सय देखी सात सय सम्म शुल्क तोकिएको प्रधानाध्यापक राउतले बताए । अग्रेंजी माध्यममा पठापाठन गराउने शिक्षकहरुको तलब समेत न्यून रहेको उनले बताए ।