बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, ३ जना घाइते

   ९ पुष २०७७, बिहीबार ११:०७  

९ पुस, रौतहट । बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ, भने अन्य ३ जना घाइते भएका छन् ।

से १ ज ८४३ नम्बरको बोलेरो धनगढीबाट बझाङ बित्थड जाने क्रममा बैतडीको सुर्नया गाउँपालिका–८ आलगैरामा आज बिहान दुर्घटना भएको हो ।

सडकबाट करिब १ सय ५० मिटर तल जिप खस्दाँ बझाङको बुंगल नगरपालिका–११ बस्ने जिप चालक अन्दाजी २७ वर्षीय धन बहादुर बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ३ जनामध्ये बैतडी पुर्चौडी नगरपालिका ४ भटनाका ३५ वर्षीय जनक भट्ट र सोही ठाउँका अन्दाजी ४० वर्षीय गंगादत्त भट्टको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनक बहादुर धामीले बताए ।

एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।