काठमाडौँ उपत्यकामा ‘हाइ अलर्ट’

   ७ पुष २०७७, मंगलवार १२:४१  

७ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको राजनीति पार्टी फुटको दिशातिर लागेपछि काठमाडौंको मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ ।

बर्दीसहितका प्रहरीका अलवा सादा पोसाकका प्रहरीलाई पनि उत्तिकै संख्यामा खटाइएको हो । काठमाडौंको रत्नपार्कवरिपरिको क्षेत्र, माइतीघर मण्डल, नयाँ बानेश्वर, तीनकुने क्षेत्र, त्रिपुरेश्वर, सुन्धारा, लैनचौर, प्रदर्शनी मार्गलगायत क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ ।

यस्तै, नेकपाभित्रको दुई खेमाको समानान्तर बैठक बोलाइएको स्थानहरुमा समेत बाक्लो संख्यामा प्रहरी खटाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरोधमा भूमिगत राजनीति गरिरहेको नेपाल कम्युनिस्ट पार्टी माओवादीको नेत्रविक्रम चन्द विप्लव समूहले समेत विरोध गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको हो ।