नेपालमा ८सय ३० जनामा कोरोना पुष्टि, १ हजार ५ सय जना संक्रमणमुक्त
२८ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३० जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा ५ हजार १ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । जसमध्ये हाल नेपालमा संस्थागत आइसोलेसनमा ४ हजार ७ सय ६२ जना र होम आइसोलेशनमा ६ हजार २ सय ३२ जना गरी संक्रिय संक्रमितको कुल संख्या १० हजार ९ सय ९४ रहेको डा. गौतमले जनाए ।
यस्तै, विगत २४ घण्टामा थप १ हजार ५ सय जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने हाल नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ ।
यसैबीच कोरोना संक्रमणका कारण नेपालमा थप ९ जनाको मृत्यु भएको छ । यससंगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ६ सय ९८ पुगेको डा. गौतमले जानकारी दिए ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३४८ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा २ सय ५८, भक्तपुरमा २५ र ललितपुरमा ६५ जना संक्रमित थपिएका छन् ।






