प्रधानमन्त्री बालेन संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने
“प्रधानमन्त्रीज्यू छोटो अवधिको लागि न्युयोर्क जाँदै हुनुहुन्छ । राष्ट्रसंघको महासभामा जलवायु परिवर्तन र त्यसले नेपालमा पारेको असरका बारेमा नेपालको धारणा राख्न उहाँ न्युयोर्क जान लाग्नुभएको हो । भ्रमण जाने आउने सबै गरी चार दिनको हुनेछ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा मंगलबार (भदौ २३)देखि यसको ८१औँ महासभा सुरु हुँदै छ । सेप्टेम्बर २२ देखि २८ (असोज ६ देखि १२)सम्म महासभामा विश्वका राष्ट्र तथा सरकार प्रमुखहरूले सम्बोधन गर्नेछन् ।
“प्रधानमन्त्रीज्यूले सेप्टेम्बर २४ (असोज ८)मा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
प्रधानमन्त्री बालेन असोज ६ गते अपराह्न कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क जानेछन् । उनी असोज ७ (सेप्टेम्बर २३) गते न्युयोर्क पुग्नेछन् ।
“प्रधानमन्त्रीज्यू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघका महासभामा सहभागी हुन न्युयोर्क पुगेका विश्वका राष्ट्र तथा सरकार प्रमुखहरूको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुन नभ्याउनुहुने भएको छ,” परराष्ट्र स्रोतले भन्यो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर २२ (असोज ६)मा उच्चस्तरीय पाहुनाको सम्मानमा रात्रिभोज आयोजना गर्दै छन् । प्रधानमन्त्री बालेन सेप्टेम्बर २३ मा मात्र न्युयोर्क पुग्नेछन् ।
“प्रधानमन्त्रीज्यूको न्युयोर्क भ्रमण छोटो भएको कारण त्यहाँ धेरै भेटघाटका कार्यक्रम राखिएको छैन । हालसम्म प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग मात्र भेटवार्ता गर्ने कार्यक्रम बनेको छ,” स्रोतले भन्यो ।
राष्ट्रसंघका महासचिव गुटेरेसले सन् २०२३ को अक्टोबर २९ देखि नोभेम्बर १ सम्म नेपाल भ्रमण गरेका थिए । त्यति बेला उनी जलवायु परिवर्तनको असर प्रत्यक्ष निरीक्षण गर्ने क्रममा सगरमाथाको आधार शिविरमा पुगेका थिए । उनी अन्नपूर्ण हिमालको आधार शिविरमा पनि पुगेका थिए ।
सगरमाथा र अन्नपूर्ण क्षेत्रको भ्रमणपश्चात् महासचिव गुटेरेसले सामाजिक सञ्जालमार्फत विभिन्न भिडियो सन्देश जारी गरेका थिए । भिडियो सन्देशमा उनले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेको संकट र विकसित राष्ट्रहरूले नेपालजस्ता देशलाई गर्नुपर्ने सहयोगका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।
यही प्रकृतिको सन्देशमार्फत विश्वको ध्यानाकर्षण गर्न प्रधानमन्त्री बालेन अहिले राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क जान लागेका हुन् । “राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्रीज्यू जान खोज्नुको एउटै मात्र उद्देश्य छ, जलवायु परिवर्तनले नेपालमा पारेको प्रभाव र विकसित देशले नेपाललाई गर्नुपर्ने सहयोगका सम्बन्धमा विश्व समुदायको ध्यानाकर्षण गर्नु,” परराष्ट्र स्रोतले भन्यो ।
भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको हिमबाढीले ठूलो जनधनको क्षति गरेपछि प्रधानमन्त्री बालेनमाथि राष्ट्रसंघको महासभामा गई जलवायु परिवर्तनले नेपालमा गरेको असरबारे बताउँदै विश्वको ध्यानाकर्षण गराउनुपर्ने दबाब बढ्यो । त्यसपछि उनी महासभामा सहभागी हुन जान तयार भएका हुन् ।
प्रधानमन्त्री बालेन सेप्टेम्बर २५ (असोज ९)मा न्युयोर्कबाट स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।






