बाराबाट बालकलाई अपहरण गरी भारत लगेर हत्या

   १७ भाद्र २०८३, बुधबार ०९:४१  

१७ भदौं, रौतहट । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साह भारतको बिहारमा मृत अवस्थामा फेला परेका छन्। प्रारम्भिक अनुसन्धानबाट बालकलाई अपहरण गरी भारत लगेर हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बालक २०८३ साल साउन ९ गते बिहान करिब ५ बजे घरबाट हराएका थिए। उनी हराएको भन्दै सोही दिन बिहान करिब ११ः४५ बजे प्रहरी चौकी मुसहर्वामा सूचना प्राप्त भएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।

खोजीका क्रममा साउन ११ गते राति करिब ८ः३० बजे भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको सुगौली पञ्चायत–१ स्थित सिंहा नदीको किनारमा बालक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा संकलित फुटेज, स्थानीय बासिन्दाको भनाइ तथा भारतीय प्रहरीसँगको समन्वयबाट बालकलाई विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका १७ वर्षीय एक किशोरले अपहरण गरी भारत लगेर कर्तव्य गरी हत्या गरेको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीले आरोपित किशोरलाई पक्राउ गरी अपहरण तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको जनाएको छ। पक्राउ परेका किशोरलाई सम्मानित जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।