छठको तयारी अन्तीम चरणमा, महापर्वको आज दोश्रो दिन
९ कार्तिक, रौतहट । तराईवासीहरुको सबै भन्दा ठूलो र पवित्र पर्व छठ पूजाको तयारी रौतहटमा अन्तिम चरणमा पुगेको छ ।
एकदमै कडा धार्मिक नियमपूर्वक आस्था र विश्वासका साथ मनाईने चार दिवसीय यो पर्व हिजो बाट शुरु भएको हो । हिन्दु धार्मिक मान्यताको आधारमा यो पर्व वर्षमा दुई पटक कार्तिक र चैत्रमा पवित्र भावना र शुद्धताको साथ मनाइन्छ ।
सूर्य उपासनाको महापर्व छठ पूजाको दोश्रो दिन आज व्रतालुहरुले खरना मनाउने गर्छन जसमा व्रतालुहरु निर्जल रही बेलुका माटोको चूल्होमा खिर र रोटी पकाई भगवान लाई चढाएर त्यही प्रसाद खाने गर्छन र त्यसछि ३६ घण्टा लामो निर्जल र निराहार भई व्रत शुरु हुन्छ । यस अवधिमा पानि समेत नखाई सूर्य भक्तिमा लीन भइ बस्छन । भोलि सोमवार बेलुका अस्ताउदै गरेको सूर्यलाई अर्घ दिइने छ भने पर्सी मंगलवार बिहान संसार लाई जीवन दिने भगवान भाष्कर (सूर्य देव) लाई विधि पूर्वक अर्घ दिए पछि चार दिनको यो पर्व सकिने छ ।

यति खेर छठ पर्वले गर्दा रौतहटका प्रमुख बजारहरु चन्द्रनिगाहपुर, गरुडा र सदरमुकाम गौरमा व्रतालुहरुको चहलपहल निकै बढेको छ । कामको सिलसिलामा बाहिर गएकाहरु पनि घर फर्किन थालेका छन । लुगाफाटा, मिठाइ, फलफूल पसलहरुमा भिड देखिन्छ भने पूजाका आवश्यक सामग्रीहरुको मोल पनि यति बेला आकाशिएको छ । डुमजातीले बनाएका पूजाको लागी चाहिने बासको चोयाले बनेका डाला, सुपली तथा कुम्हाले ले बनाएका माटोका कलश र हाती किन्ने ग्राहकहरुकोे भीड छ ।
यसै बिच तराईवासीको महान एव पवित्र छठ पूजामा व्रतालुहरुलाई सहयोग होस भनेर आज गौर क्षेत्रका सबै छठ घाटहरुमा हिजो स्थानिय युवाहरु, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी बलका विभिन्न ईकाइहरुले ले सरसफाई कार्यक्रम गरेको छ । छठ पूजा हुने पोखरी, तलाउ तथा नदी किनारहरु दुलही झै श्रृगारीदै छन भने भजन किर्तनका गीतहरुले यहाको वातावरण नै भक्तिमय बन्न थालेको छ ।
समानताको प्रतिक छठ
लोकआश्थाको यो पर्वलाई समानताको प्रतिकको रुपमा पनि लिने गरिएको छ । नदी तथा पोखरी किनारमा सामुहिक रुपमा छठ गरिरहदा धनि र गरिब बिचको भेदभाव अनी सानो र ठूलो भन्ने भावनाको पनि अन्त्य भएको देखिन्छ ।
खास गरी उपेक्षित मानिने डुम समुदायले बनाएको बासको चोयाको सुपली, नाङ्गलो र डालाको प्रयोग गरिने यस पर्वले छुवाछुतको खाडललाई पनि पुर्ने काम गरेको छ भने समाजमा सबै मानिसको अस्तीत्व हुन्छ भन्ने समेत स्वीकार गराएको छ । डुम समुदायलाई यति खेर आफूले बनाएको बासका सामग्री बेच्न भ्याइनभ्याईको अवश्था छ ।
छठ एक यस्तो पर्व पनि हो जसमा पुरोहित वा पुजारीको प्रयोग हुदैन । अन्य पर्वहरुमा पुजारी र पंडितले विधिपूर्वक पूजा गराए पनि छठमा उनीहरुको प्रयोग हुदैन । सामुहिक रुपमा बसेका व्रतालुहरुले पूर्ण विधिविधानले स्वंम आफै नै भक्तिभावका साथ चार दिनको पूजा सम्पन्न गर्छन ।
अन्य चाडपर्वहरुमा देवी देवताको मूर्ति वा प्रतिमालाई पुजा गर्ने चलन रहे पनि छठ पर्वमा भने अस्ताउदो र उदयमान सूर्यलाई प्रत्यक्ष हेरेर नै व्रतालुहरुले अर्घ दिने गर्छन । पृथ्वीलाई जिवन दिने सूर्यलाई नै भगवानका रुपमा पूजा गर्ने यो पर्वमा उदाउदो मात्रै होइन अस्ताउदो सूर्यको समेत पूजा गर्ने गरिन्छ ।






