आइतबार थप १२५५ मा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु
१४ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २ सय ५५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । जसमध्ये हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या १७ हजार ९ सय ९ रहेको डा. गौतमले बताए ।
यस्तै, विगत २४ घण्टामा थप १ हजार ४ सय ४ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।
त्यस्तै, बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप २५ जनाको मृत्यु भएको छ, भने हालसम्म देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ४ सय ७९ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा थप ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौँमा ४ सय २२ जना, भक्तपुरमा ६५ जना र ललितपुरमा ६१ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको हो ।






