आज बिहान गुल्मीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, २ जना गम्भीर घाइते
१२ मंसिर, रौतहट । गुल्मीमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–४ मा आज बिहान करिब ७ः३० बजेको समयमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका हुन् ।
दुर्घटनामा इस्मा–४ का ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी, ३३ वर्षीय शिव दर्लामी, ६५ वर्षीय डम्बर हितान, मालिका गाउँपालिका–५ की ८० वर्षिया सुन्दरी थापाको मृत्यु भएको छ ।
यस्तै, उपचारका क्रममा इस्मा–४ का १९ वर्षीय फर्सुराम थापाको पनि मृत्यु भएको गुल्मीका प्रहरी प्रमुख, एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए ।
इस्माबाट तम्घास तर्फ जादैँ गरेको लु १ ज ११६६ नम्बरको जीप इस्मा ४ को हुल भन्ने ठाउँमा भीरबाट खसेको कारण घटनास्थलमै ५ जनाको मृत्यु भएको थियो, भने १ जनाको उपचारका क्रममा गुल्मी जिल्ला अस्पतालमा मृत्यु भएको गुल्मीका प्रहरी प्रमुख, एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर घाइते भएका इस्मा–४ का २८ वर्षीया सरस्वती दर्लामी र जीपका सहचालक २५ वर्षीय कमल हितानको तम्घासमा उपचार भइरहेको छ ।
जीप चालक बुद्ध बस्नेत भने सकुशल रहेका छन् । चालकलाई पक्राउ गरिएको एसपी श्रेष्ठले बताए ।






