बालिका हत्या प्रकरण,
१० मंसिर, रौतहट । महोत्तरीको बर्दिबास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । प्रहरीको गोली लागेर गम्भीर घाइते भएका एक जना प्रदर्शनकारीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा लगाएको हो ।
मंगलबार ६ वर्षीया बालिका हत्याको बिरोधमा प्रर्दशन भएपछि प्रर्दशन तथा बिरोधलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागि तीन जना घाइते भएका थिए । घाइतेमध्ये बर्दिबास नगरपालिका वडा नम्वर १ का ४१ वर्षीय संजय भनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । तीघ्रामा गोली लागेर घाइते भएका न्यौपानेलाई हेलिकप्टरबाट उपचारको लागि ग्रान्डी अस्पताल पु¥याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए ।

बर्दिवास नगरपालिका–१४ का सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार मध्यराति फेला परेको थियो । बस्तीबाटै हराएकी खातुनको शव हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा भेटिएको थियो । बालिकाको हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा मंगलबार सडक अवरुद्ध पारेका थिए । राजमार्ग खुलाउन प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास र गोली चलाएको थियो । गोली लागेर तीनजना घाइते भएका थिए ।

आइतबारदेखि हराएकी बर्दिबास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव खातुनको मंगलबार शव फेला परेको थियो । प्रहरीले अनुसन्धानको क्रममा गौशाला नगरपालिका ५ घर भई बर्दिवास नगरपालिका १४ बस्ने २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको छ । हत्याको आरोप लागेका साहको घरमा मंगलबार बिहान आक्रोशित स्थानीयले आगजनीसमेत गरेका थिए । घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
न्यौपानेको मृत्युपछि बुधबार बिहानदेखि नै बर्दिबासमा प्रदर्शन भइरहेको छ । थप प्रदर्शन हुन नदिन भन्दै प्रशासनले आज बिहान ९ बजेदेखि भोलि बिहानसम्म निषेधाज्ञा लागू गरेको छ । ’अहिलेको अवस्था सामान्य नै छ। तर बर्दिवास बजारको अवस्था फेरी बिग्रन सक्छ कि भनेर आज निषेधाज्ञा जारी गरिएको छ,’ जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए ।






