ह्वाइट हाउसले कसलाई स्वागत गर्ला ?
अमेरिकी राष्ट्रपतिका प्रत्यासी जोय बाइडेनले मत परिणाम आफ्नो पक्षमा आउँदै गरेको बताउँदै एकता नै आफ्नो प्राथमिकता रहने बताएका छन्। राष्ट्रलाई एक गराउने विषय महत्वका साथ उठाउँदै उनले जिततिर लम्किँदै गरेको आत्मविश्वसा प्रकट गरे। ‘म यहाँ हामीले जित्यौं भन्न उपस्थित भएको होइन। म रिपोर्ट गर्न आएको हुँ – जब मत गणना सकिनेछ, विश्वास छ हामीले जित हासिल गरेका हुनेछौं,’ बाइडेनले भने।
महत्वपूर्ण मानिएका केही राज्यमा मत गणना अझै जारी छ। तर डेमोक्रेट पार्टीले अहिलेसम्मकै सबैभन्दा धेरै मत पाएर राष्ट्रपति पद हासिल हुँदै गरेको जनाएको छ।
यो दावीमा सत्यता छ किनकि नेपाली समयअनुसार आज बिहान पौने ५ बजेसम्म मत गन्तीमा बाइडेनले ७ करोडभन्दा धेरै मत ल्याइसकेका छन्। सन् २०१६ को निर्वाचनमा ट्रम्पले कूल हासिल गरेको मतभन्दा यो ३० लाखभन्दा बढी हो। सन् २००८ मा बाराक ओवामाले राष्ट्रपति पदमा चुनाव जित्दा ६ करोड ९५ लाख मत ल्याएका थिए।
यसपाला बढी मत खसेका कारण बाइडेनले धेरै मत ल्याए। साथै राष्ट्रपति ट्रम्पले पनि २०१६ मा जित हासिल गर्दा भन्दा बढी मत पाइसकेका छन् यसपाला।
अमेरिकी निर्वाचनमा बढी मत ल्याउनुको अर्थ ह्वाइट हाउसको ढोका खुल्नु भने होइन। अझै एरिजोना, जर्जिया, नेभाडा, विस्कोन्सिन र पेन्सेलभेनियाको मत परिणाम पूरा आइसकेको छैन। आज दिनभरिमा यी क्षेत्रको मत परिणाम सार्वजनिक भएसँगै ह्वाइट हाउसले कसलाई स्वागत गर्ने भन्ने तय हुनेछ।

ट्रम्प र बाइडेनमध्ये कुन राज्यमा को अगाडि ?
अमेरिकामा राष्ट्रपति चुनावका अत्यन्तै महत्त्वपूर्ण मानिने राज्यहरुमध्येको एक जर्जियाका मुख्य निर्वाचन अधिकारी ब्रेड रेफेसपर्गरल झन्डै दुई लाख मत गणना हुन बाँकी रहेको बताएका छन् ।
मुख्य निर्वाचन अधिकारी रेफेसपर्गरले अमेरिकी समयअनुसार बुधबार राति अथवा बिहीबार बिहानसम्म मतगणना जारी रहने सम्भावना रहेको पनि बताएका छन् । उनले भने, “तत्काल गर्न जरुरी छ । तर, त्योभन्दा पनि जरुरी सही गर्नु छ ।” पारम्परिक रूपमा रिपब्लिकन राज्य जर्जियामा वहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प ३८ हजार नौ ९६ मतले अगाडि छन् । यसका साथै नर्थ क्यारोलिना, विस्कन्सिन, नेवाडा र पेन्सल्भेनियामा मतगणना जारी छ ।
नर्थ क्यारोलिनामा ट्रम्प ७६ हजार सात सय ३७ मतका साथ अगाडि छन् । त्यहाँका अधिकारीहरुले मतगणनाको अन्तिम परिणाम नाभेम्बर १३ भन्दा अगाडि नआउने बताएका छन् ।
विस्कन्सिनमा डेमोक्रेटिक उमेदवार जो बाइडेन २० हजार पाँच सय १० मतले अगाडि छन् । विस्कन्सिनमा ९९ प्रतिशत मतपेटिकाको गणना सम्पन्न भइसकेको छ ।
नेवाडामा ८६ प्रतिशत मतपेटिका गणना भइसक्दा बाइडेन सात हजार चार सय ६७ मतले अगाडि छन् ।
पेन्सल्भेनियामा ट्रम्प एक लाख ८७ हजार मतले अगाडि छन् । तर, लाखौं मतगणना गर्न बाँकी छ । जसमा अधिकांश डेमोक्रेटिक क्षेत्रका पोस्टल ब्यालेट (हुलाकमार्फत गरिएको मतदान) को मतपत्रहरु गणना गर्न बाँकी छन् ।






