सुनसरीबाट पेस्तोलसहित एक जना पक्राउ
१४ कात्तिक, रौतहट । सुनसरीमा पेस्तोलमा लोड गरिएको म्याग्जीन र दुई राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ बाट बिहीबार हतियार सहित स्थानीय २३ वर्षीय टुमासिंह यादव लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो ।
यादवले विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिँदै आएको विशेष सुचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गर्दा लुकाइराखेको पेस्तोल फेला पारेपछि यादवलाई नियन्त्रणमा लिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
खोजतलासका क्रममा शौचालयको सेफ्टी ट्याङ्की छेउमा प्लाष्टिकको झोलामा लुकाइराखेको अवस्थामा ‘मेड इन इण्डिया’ लेखेको पेस्तोल भेटिट्एको प्रहरी उपरीक्षक थापाले बताए ।
हतियारसहित पक्राउ परेका यादवविरुद्ध हातहतियार खरखजानासम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।






