आइतबार कोरोनाबाट थप ९ जनाको मृत्युु
२५ असोज, रौतहट । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभड १९)का संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ ।
रुपन्देहीका चार जना, चितवनका १ जना, धुलिखेलका १ जना र बीपी प्रतिष्ठानमा ३ जना गरी थप चार जनाको मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट रुपन्देहीमा मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् ।
बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो । बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल वा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजान रिफर गरिएकोमा बाटोमै आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी मुटुका दीर्घरोगी समेत रहेका गौतमदे बताए ।
यस्तै बुटवल ११ की ६१ वर्षीया महिलाको पनि उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ । असोज २१ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा आइतबार बिहान २ बजे मृत्यु भएको डा. गौतमले पुष्टि गरे । असोज २१ गते नै कोरोना संक्रमण पुष्टि भएको उनमा श्वासप्रश्वासको समस्या थियो ।
त्यस्तै, बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ । शनिबार अस्पताल भर्ना भएका उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी डा. गौतमका अनुसार उनमा उनमा निमोनिया र श्वासप्रश्वासको पनि समस्या थियो ।
त्यसैगरी, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पतालमा राति साढे १० बजे मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोनाका कारण मृत्यु हुने उनी नै पहिलो व्यक्ति हुन् । ती महिला उच्च रक्तचाप र मधुमेहको दीर्घ रोगी पनि थिइन् ।
यसैबीच, कोरोनाबाट चितवन मेडिकल कलेज र धुलिखेल अस्पतालमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. १ निवासी ७५ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
उनी दम, उच्च रक्तचाप र निमोनियासम्बन्धी समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी थिइन् । उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भइरहेको बेला आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै चितवन जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।
यस्तै, काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा १० दिनदेखि उपचाररत ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । उनी जन्डिसकोसमेत बिरामी थिए । योसँगै काभ्रे जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमित मृत्यु भएको छ । दुहबीका ६५ वर्षीय पुरुषको र धनकुटाकी ६१ वर्षीय महिलाको आज बिहान तथा सुनसरीको धरान–८ की ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
धरानका ६२ वर्षीय पुरुषमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अस्पताल भर्ना गरेर उनको उपचार थालिएको थियो । उपचारको क्रममा गएराति ८ बजे उनको मृत्यु भएको सहायक प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।
यसैगरी, सुनसरीको दुहबीका ६५ वर्षीय पुरुषको भने आज बिहान ३ः५० मा मृत्यु भएको हो । उच्च रक्तचाप र निमोनियाको समस्या भएपछि उनी असोज १४ गते प्रतिष्ठानमा भर्ना भएका थिए । असोज १५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी, धनकुटाका ६१ वर्षीया महिलाको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । डायबिटिज र उच्च रक्तचापको समस्याबाट पीडित उनी धनकुटा अस्पतालबाट रिफर भएर आएकी थिइन् । उनी असोज १६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी थिइन् । उपचारको क्रममा असोज २० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज बिहान ६ः४० बजे ती महिलाको मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।






