कोरोना संक्रमणबाट एक सैनिक जवान सहित दुई जनाको मृत्यु
१० असोज, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट थप एक सैनिक जवान सहित दुई जनाको मृत्यु भएको छ ।
चितवनका एक पुरुष र बझङका एक सैनिकको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । हेटौँडा उपमहानगरपालिका वडा नं. ९ का ७४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
श्वासप्रश्वास र निमोनियाको समस्या भएपछि उनी गत भदौ ३ गते अस्पताल भर्ना भएका अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए । उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा शुक्रबार राति ती पुरुषको मृत्यु भएको हो । उनको सघनकक्षमा राखी उपचार हुँदाहुँदै आएको थियो ।
त्यस्तै, बझाङ घर भई काठमाडौं उपत्कामा कार्यरत एक सैनिकको शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको हो ।
असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई कोरोना संक्रमण भएको ८ गते पुष्टि भएको थियो ।
जङ्ग्गी अड्डाका अनुसार सेनामा हालसम्म २ हजार १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५ सय३९ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै कोरोना संक्रमणबाट मृत्यु हुने सैनिकको संख्या २ पुगेको छ ।






