नेपाल भारत ओसारपसार भइरहेको अवस्थामा सर्लाहीबाट ३०९ किलो गाँजा बरामद

   २८ भाद्र २०७७, आईतवार १२:५२  

२८ भदौ, रौतहट । नेपाल भारत दुवैतर्फ लागूऔषध ओसारपसार गरिरहेको अवस्थामा सर्लाहीबाट ३०९ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।

ना ४ ख ७७४८ नम्बरको १० चक्के ट्रकमा ३०९ किलो गाँजा लोड गरिएको अवस्थामा सर्लाही प्रहरीले बरामद गरेको हो । पर्सा गाउँपालिका वडा नम्बर ५ डोमोवा टोलबाट शनिबार राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए ।

११ वटा पोकामध्ये ९ वटामा ३१ किलोका दरले र २ वटामा १५ किलोका दरले गाँजा बरामद भएको राजु प्रसाद कुर्मीले बताए । गाँजा ओसारपसार भइरहेको सूचना आएपछि, जिल्ला प्रहरी प्रमुख सन्तोष सिंह राठौर नेतृत्वको टोली अनुगमनमा खटिएको थियो ।

प्रहरीका टोलीलाई देखेर चालकले ट्रकलाई स्टार्ट अवस्थामै राखेर फरार भएको प्रहरी निरीक्षक कुर्मीले जनाएका छन् । ट्रकका चालक एवं गाँजा ओसारपसार गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।