प्रदेश १ मा एक लाख पीसीआर परीक्षण गर्दा ४ हजार जनामा कोरोना पृष्टि
२३ भदौ, रौतहट । कोरोना माहामारीका कारण प्रदेश १ मा सोमबारसम्म १ लाख ३ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार १ सय ७७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । त्यसमध्ये ४३ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये १ हजार ८ सय ९५ जना संक्रमण मुक्त भएका छन । २ हजार २ सय ३९ जना उपचाररत छन ।
परीक्षण गरिएकामध्ये ९६ हजार १ सय ७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा औसतमा एकसय जनाको परीक्षण गर्दा चार जनाको पोजेटिभ देखिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगरबाट २५ हजार ४३६, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६ सय ४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३ सय ४३, मेची अस्पताल झापाबाट २ हजार ८ सय ९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण गरिएको छ ।
प्रदेशमा सबैभन्दा बढी मोरङ जिल्लामा परीक्षण भएको छ । मोरङमा ३१ हजार २ सय ६७ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १ हजार ९ सय ४४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये २३ जनाको मृत्यु भएको छ । सुनसरीमा २३ हजार ६ सय ७९ को परीक्षण गरिएको छ, जसमा एक हजार ५६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
झापामा २३ हजार ५ सय ८५ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा बीपीमा गत १८ चैतदेखि, कोशीमा २९ चैतदेखि, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा १९ वैशाखदेखि र मेची अस्पतालमा ३० साउनबाट पीसीआर जाँच सुरु गरिएको थियो ।






