रुकुमपश्चिमबाट दुई लागुऔषध कारोवारी पक्राउ
१० भदौ, रौतहट । रुकुमपश्चिममा गोली प्रहार गरी दुई लागुऔषध कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।
एक जना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । गोली लागेर घाइते हुनेमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुन रहेका छन । उनको तिघ्रामा गोली लागेको र थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको छ ।
उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन पक्राउ परेका छन । जयप्रकाश घर्ती भने फरार भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिएका हुन् ।






