टेलिकमकाे फाइभजी सेवा परीक्षणकाे प्रकृया तयार
२३ असार, राैतहट । नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी सेवाको परीक्षणको अनुमतिको लागि आवश्यक पर्ने कागजातहरुको मापदण्ड र प्रकृया तयार पारेको छ।
प्राधिकरणका निर्देशक अम्बर स्थापितको संयोजकत्वमा गठित कमिटीले फाइजी सेवाको लागि आवश्यक पर्ने कागजात तथा प्रकृयालाई स्पष्ट पार्दै सोहिअनुसार फाइजभीको अनुमति दिन उल्लेख गरेको छ।
सो कमिटीले हालै प्राधिकरण व्यवस्थापनलाई बुझाएको सो प्रतिवेदनमा फाइभजी परीक्षणको लागि निवेदन दिँदै नै नियमनकारीलाई बुझाउनुपर्ने कागतपत्रहरुको बारेमा स्पष्ट पारेको हो ।
कमिटिले ‘फाइभजी संचालनको लागि कार्यविधि’ तयार पारेको हो ।
सोहि प्रकृया र आवश्यक कागतपत्रको आधारमा मात्र टेलिकम कम्पनीहरुलाई आगामी दिनमा फाइभजी नेटवर्क परीक्षणको लागि अनुमति दिने प्राधिकरणका निर्देशक अम्बर स्थापितले बताए ।
‘हामीले फाइभजी परीक्षणको लागि आवेदन माग गर्ने कम्पनीहरुका लागि गाइडलाइन र प्रकृयाको बारेमा स्पष्ट मात्र पारेका हौं । सोहिअनुसार कम्पनीहरुले कागतपत्र र प्रकृया पुरा गर्नुपर्नेछ,’ निर्देशक स्थापितले भने ।
उनकाअनुसार यस प्रकृयालाई नेपाल टेलिकमले समेत पालना गर्नुपर्नेछ । तर कम्पनीले यसअघि नै दिएको निवेदनलाई पनि सोहि प्रकृयाअनुसार आएको मानिने छ।
‘नेपाल टेलिकमले यसअघि नै निवेदन दिएपनि कम्पनीले नयाँ प्रकृयालाई पालना गर्नुपर्नेछ र सो कार्यबिधिअनुसार नपुगेका कागतपत्रहरु उपलब्ध गराउनुपर्नेछ । त्यसपछि मात्र अन्य प्राविधिक निर्णयहरु हुनेछन् ।’ उनले भने ।
यसअघि टेलिकमले आफूले ५जी सेवाको परीक्षण संचालनका लागि अनुमति माग गर्दै प्राधिकरणका निवेदन दिएको थियो । जसमा कम्पनीले शहरी र ग्रामिण क्षेत्रहरुमा आफूले फाइभजी सेवा परीक्षण गर्न चाहेको उल्लेख गरेको छ ।
टेलिकमले ७०० वा ८०० मेगाहर्ज ब्याण्ड तथा २६०० मेगाहर्ज ब्याण्डमा फाइभजी परीक्षण गर्न खोजेको निवेदनसहित जानकारी दिएको छ ।
कम्पनीले अनुमतिको लागि आवेदन दिएसँगै प्राधिकरणले सो बारेमा अध्ययन तथा सुझाब दिन कार्यटोली गठन गरेको थियो ।
सोहि टोलीले कार्यबिधिसहितको सुझाब पेश गरेको हो ।
अब टेलिकमले पनि सोहि कार्यबिधि पालना गर्दै निवेदन प्रकृयाका चरणहरु पुरा गर्नुपर्नेछ र त्यसपछि मात्र प्राधिकरणले परीक्षण अनुमति दिनेछ ।
प्राधिकरणले यी सबै प्रकृयाहरु पुरा गरेको खण्डमा आगामी साउन मसान्तभित्रै नेपाल टेलिकमलाई परीक्षणको अनुमति दिन सकिने जनाएको छ।






