गुगल फाेटाेजबाट अनलिमिटेड स्टोरेजको सुविधा हटाउँदै

   १८ जेष्ठ २०७८, मंगलवार १०:३९  

१८ जेठ, राैतहट । गुगलले आजदेखि गुगल फोटोजबाट अनलिमिटेड स्टोरेजको सुविधा हटाउँदै छ ।

अब हाई क्वालिटी तथा एक्सप्रेस क्वालिटीका सम्पूर्ण नयाँ फोटो तथा भिडियो ब्याकअपलाई गुगल अकाउन्टमै आउने फ्री १५ जीबी स्टोरेजमा गणना हुने गरी स्टाेरेज पाेलिसी कार्यान्वयनमा आउन लागेकाे हाे ।

याेसँगै गुगल अकाउन्टमा १५ जीबीभन्दा बढी स्टाेरेजकाे सुविधा हुनेछैन । यसअघि गुगल फाेटाेजका लागि अनलिमिटेड स्टाेरेज सुविधा थियाे । अब गुगल फाेटाेजसँगै, जीमेल र गुगल ड्राइभमा १५ जीबीसम्मका लागि मात्र निःशुल्क उपलब्ध हुनेछ ।

यसपछि गुगल फाेटाेजमा निरन्तर फाेटाे र भिडियाे ब्याकअप राख्न पैसा तिर्नुपर्छ । १५ जीबीभन्दा बढी फाइल ब्याकअप राख्दै हुनुहुन्छ भने तपाईंले एक महिनाका लागि १.९९ डलर र एक वर्षका लागि १९.९९ डलर तिर्नुपर्ने हुन्छ । याे शुल्कमा तपाईंले १०० जीबीसम्म फाइल स्टाेर गर्न सक्नुहुन्छ ।

गुगलको पिक्सेल फाेन प्रयोगकर्ताले जून महिनापछि पनि निरन्तर अनलिमिटेड स्टोरेजको मज्जा लुट्न पाउनेछन् ।