नेपाल टेलिकम र एनसेलको नामबाट फिशिङ आक्रमण, डेटा चोरी हुने खतरा
२४ पुस, रौतहट । दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलको नाम र प्रोफाइल पिक्चरको दुरुपयोग गरेर फेसबुकमा फिशिङ आक्रमण भएको पाइएको छ । प्रयोगकर्ताको डेटा चोर्न गरिएको यो आक्रमणबाट धेरै पीडित बन्न थालेका छन् ।
फिशिङ अन्तर्गत एनसेलको नक्कली पेजबाट ५ जीबी फ्री डेटा र नेपाल टेलिकमको पेजबाट ३ जीबी डेटाकोे लोभ देखाउँदै बिट्ली लिंक दिइएको छ । सोझा प्रयोगकर्ता फ्री इन्टरनेट पाउने अपेक्षामा सो लिंकमा क्लिक गरे साइबर अपराधीको हमलामा पर्नेछन् ।

यसरी प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत विवरण राख्न लगाउने र उनीहरुको अकाउन्ट ह्याक गर्ने जालको रुपमा फिशिङ आक्रमण गर्ने गतिविधि मौलाएको छ ।
यस्तोमा आधिकारिक कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेजबाट मात्र आवश्यक जानकारी लिनुपर्नेमा सुरक्षा विज्ञहरूको जोड छ ।
यस्तो फिशिङ क्याम्पियन नेपाल लगायत विभिन्न मुलुकमा सञ्चालन भइरहेको साइबर सेक्युरिटी कम्पनी थ्रेटनिक्सले जनाएको छ । हालै उसले गरेको अध्ययनमा फेसबुक फिशिङ स्क्याममा ६ लाखभन्दा बढी फेसबुक प्रयोगकर्ताहरुको लगइन क्रेडेन्सियल चोरी भएको उल्लेख छ ।
गिटहब पेज र फेसबुक एडको प्रयोग गरी सञ्चालन भएको फिशिङबाट नेपाल लगायत विभिन्न मुलुकका ६ लाख १५ हजार फेसबुक प्रयोगकर्ताहरु प्रभावित भएको सो अध्ययनले देखाएको छ ।
थ्रेटनिक्सका अनुसार यस्तो व्यापक फिशिङ क्याम्पियनबाट नेपाल, इजिप्ट, फिलिपिन्स, ट्युनिशिया, पाकिस्तान र अन्य मुलुकका प्रयोगकर्ताहरुको फेसबुक लगइन क्रेडेन्सियलहरु चोरी भइरहेको छ ।
सो क्याम्पियन अन्तर्गत ह्याकरहरुले विभिन्न मुलुकको स्थानीय फेसबुक पोस्ट तथा पेजहरुको नक्कल गरी तिनै मुलुकसँग मिल्ने किसिमका विज्ञापन तथा अफरहरुको लोभमा पारेर मानिसहरुलाई फिशिङको शिकार बनाउने गरेको पाइएको छ ।






